27/11/2023
लेखनाथ महोत्सव सफल बनाउन महिला उद्यमीहरुले सघाउने
लेखनाथ, ११ मंसिर ।
लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औ संस्करणको लेखनाथ महोत्सवलाई सफल बनाउन महिला उद्यमीहरुले सघाउने भएका छन । लेखनाथ उद्योग वाणिज्य संघ र महिला उद्यमी उप-समिति विच आईतबार भएको छलफलमा उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको उप-समितिकी संयोजक गंगा कुमारी मल्लले जानकारी दिएकी हुन ।
यस अघि आईतबार नै गठन गरिएको उक्त उप-समितीको सह-संयोजकमा शर्मिला श्रेष्ठ, सदस्यहरुमा शर्मीला खड्का, रुपकला श्रेष्ठ, जमुना गिरी, सरस्वती गुरुङ, मनदेवी, गुरुङ, कल्पना तिवारी, सुमीत्रा बञ्जारा, पम्फा देवकोटा, सोममाया तामाङ, लक्ष्मी पौडेल, सपना सुवेदी, प्रतिक्षा पौडेल, धनकुमारी पुन र पद्मा सिंखडा चयन भएका छन । यस्तै सल्लाहकारमा ईन्दिरा रोका, मेनुका श्रेष्ठ, रञ्जना बराल, पार्वती थापा, शान्ती खनाल र सुर्यकुमारी बञ्जरालाई चयन गरिएको छ ।
महोत्सवमा उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु, कृषि उत्पादन एवं अन्य उत्पादनको प्रर्दशनी एवं विक्रिका लागी आयोजकले निशुल्क ४ वटा स्टल उपलब्ध गराउने भएको छ भने महोत्सवमा विभिन्न महिला लक्षित कार्यक्रमहरु झाँकी र्याली, रत्यौली लगायतका कार्यक्रमको व्यवस्थापनका लागी महिला उप-समितिले विशेष भुमिका निर्वाह गर्नेछ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना-ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।
विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने प्रचार प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले वताए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह-प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह-संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप-समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।